प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत बर्खास्ती र नियुक्ति गर्ने गरेको बताएका छन्।
राष्ट्रिय सूचना आयोगले मंगलबार गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अदालतलाई झोक चल्दा भने बर्खास्ती र नियुक्तिसमेत गरेको ताजा अनुभव आफूसँग रहेको बताए।
‘प्रधानमन्त्री संसदबाट चुनिन्छ। चुनिएर बन्छ। कहिले कहिले अदालतले झोक चल्दा बाहेक संसदले हटाउँछ। अब अदालतलाई नै झोक चल्यो भने त कसको के लाग्छ ? अदालतले नै ठोकिदिन्छ, प्रधानमन्त्री त बर्खास्ती गरिदिएँ। प्रधानमन्त्री संसदबाटै निर्वाचित हुन्छ। कहिले कहिले संसदलाई ज्वरो आएका बेलामा बाहेक। कहिले कहिले त फलानोलाई नियुक्ति गरिदिएको छु भनेर पनि ठोकिदिँदो रहेछ, अदालतले,’ प्रधानमन्त्री ओलीले भने।
ओली प्रधानमन्त्री भएका बेला संसद विघटन गरेकोले उक्त निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएको थियो।
त्यसतर्फ लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री बर्खास्ती र नियुक्तिसमेत गरेको बताए।
‘किनभने संविधानको व्याख्याता हो अदालत। त्यसकारण अदालतको कुर्सीमा बसेपछि व्याख्या गर्न पाइने भएको हुनाले अनुकूल व्याख्या गर्ने सुविधालाई उहाँहरूले प्रयोग गर्दा बर्खास्त वा नियुक्ति प्रधानमन्त्रीको संसदबाट नगरेको पनि हाम्रै देशको ताजै इतिहास छ। जहाँ डेमोक्रेटजाइसन हुनुपर्ने त्यहाँ छैन। सैन्य पाराले नियुक्ति भयो, बर्खास्ती पो भयो। धन्न पोर्टमार्सल भएन। कहिले कहिले त्यस्तो पनि हुँदो रहेछ। मान्छेहरूले उरालिदिन्छन् अदालतलाई यस्तो भन्यो भनेर। कहिले कहिले यस्तो पनि हुँदो रहेछ जिन्दगीमा भनेको मात्रै हो। हामी पूर्ण लोकतन्त्रमार्फत् परिपूर्ण लोकतन्त्र हाम्रो माध्यम हो। जसभित्र सबै स्वतन्त्रताका हक पर्दछन्,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)