नेपाल र भारतबीच ९ वर्षपछि गृहसचिवस्तरीय बैठक हुने भएको छ।
मंगलबार हुने बैठकमा सहभागी गृह सचिव गोकर्णमणि दवाडीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल नयाँदिल्ली जान लागेको हो।
९ वर्षअघि सन् २०१६ यता यस्तो बैठक बस्न सकेको थिएन।
‘नेपाल र भारतबीच गृहसचिव स्तरीय बैठक नयाँ दिल्लीमा हुन लागेको हो’, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सेतोपाटीसँग भने, ‘गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ।’
मंगलबारबाट सुरू हुने दुई दिने बैठकमा अन्तरदेशीय अपराध, सीमा व्यवस्थापन, सीमाका पिलरहरूको मर्मत र तस्करी नियन्त्रणका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ।
बैठकमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका सहसचिवहरूका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका प्रतिनिधि पनि सहभागी हुनेछन्।
बैठकमा दुई मुलुकका सुरक्षा अंगहरूका बीचको सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुनेछ। दुई देशबीच पारस्परीक कानुनी सहायता र सुपर्दगी सन्धीका विषयमा समेत धारणा आदान प्रदान हुनेछ।
‘बैठकका लागि नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछ’, गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले भने, ‘बैठकको तयारीमा नेपाली पक्षमा छलफलमा छ।’
नेपालले लिम्पियाधुरा, लिपुलेक सहितका भूभाग समेटेर नक्सा जारी गरेपछि दुई मुलुकका गृह सचिवस्तरीय बैठक हुन सकेको थिएन।
साथै भदौ ३१ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिने भारत भ्रमण हुने भएको छ।