राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट हटाएपछि मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन्।
अध्यक्ष लिङ्देनले शुक्रबार गिरीलाई केन्द्रीय सदस्य र उपाध्यक्ष पदबाट पदमुक्त गरेका थिए।
उनले बिहीबार अध्यक्ष लिङ्देनविरूद्ध विज्ञप्ति जारी गरेका थिए। अध्यक्ष लिङ्देन स्वेच्छाचारी बन्दै नवराज सुवेदी र सगुन सुन्दर लावतीलाई कारबाही गरेको गिरीको भनाइ थियो।
अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्षबाट सुवेदीलाई र प्रवक्ताबाट लावतीलाई असार २५ गते पदमुक्त गरेका थिए। सुवेदी र लावती यसअघि नै निर्वाचन आयोग पुगेर पुनर्बहालीको माग गर्दै निवेदन दिएका थिए।
उपाध्यक्ष गिरीले पनि आफूलाई पुनर्बहालीको माग गरेका छन्। अध्यक्ष लिङ्देनले विधानविपरीत र स्पष्टीकरणको मौका पनि नदिई पदमुक्त गरेको उनको भनाइ छ।
गिरीसहित महामन्त्रीहरू धवलशम्शेर राणा, कुन्तिकुमारी शाहीलगायत निर्वाचन आयोग पुगेका थिए।
अध्यक्ष लिङ्देनले आफूले मनोनीत गरेकाहरूले गुट बनाउँदै आफैलाई असहयोग गरेको भन्दै मनोनीत पदाधिकारीहरूलाई पदमुक्त गर्दै आएका छन्।
तस्बिरहरू:
-ink-1752997821.jpeg)
-ink-1752997820.jpeg)
-ink-1752997820.jpeg)
-ink-1752997819.jpeg)
-ink-1752997819.jpeg)
-ink-1752997818.jpeg)
-ink-1752997818.jpeg)
-ink-1752997817.jpeg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी।