नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको संशोधन (मस्यौदा) माथि गम्भीरताका साथ बहसमा भाग लिन पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पोलिटब्युरो सदस्यलाई बहसमा भाग लिने भनेका हुन्।
‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताकासाथ छलफल गरियो। आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ। पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् महासचिव शंकर पोखरेललाई लक्ष्य गर्दै जबाफ दिएका हुन्।
शुक्रबार बिहानै महासचिव पोखरेलले एमालेमा नीति, विधि र नेतृत्वको टुंगो लागिसकेको बताएका थिए। र, सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यससम्बन्धी बहस सकिएको आसय व्यक्त गरेका थिए।
महासचिव पोखरेलले पार्टीमा विधि निर्माणको अन्योल अन्त्य भएको बताएका हुन्।
विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्न बस्न लागेको पोलिटब्युरो बैठकअगाडि उनले विधि निर्माणको प्रश्न हल भएको बताएका थिए।
‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन २०८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ,’ महासचिव पोखरेलले भनेका छन्।
एमालेको पोलिटब्युरोको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ।
बिहीबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद, कार्यकाल हटाउने, पदाधिकारीको संख्या १५ कायम गर्ने, केन्द्रीय कमिटीको संख्या २५१ सदस्यीय रहने प्रस्ताव सहमतिले पारित गरेको छ।