राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सोमबार सम्बोधन गर्दै उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैंमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रूपमा रहेको बताएका हुन्।
नेपालको भौगोलिक सुन्दरताबाट चलचित्र सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने उनले बताए।
‘पछिल्लो समयमा आदिवासी जनजाति लगायतका कला, भाषा, भेषभुषा, संस्कार र संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचाना र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ’, उनले भने।
राष्ट्रपति पौडेलले कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको चलचित्र बनाएर विश्वव्यापीकरण र सूचना प्रविधिको युगमा विश्वका दर्शकसामु पुग्ने प्रयासमा जुट्नुपर्नेमा जोड दिए।
‘नेपाली चलचिलत्रको विकास, विस्तार र समृद्धिको यात्रामा सरकार, नीति निर्माता, चलचित्रकर्मी र सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नु हाम्रो साझा दायित्व हो’, उनले भने।
मानव समुदायलाई प्रभावित र प्रेरित गर्ने चलचित्रको महत्व आधुनिक युगमा पनि उत्तिकै रहेको उनको भनाइ छ।
राष्ट्रपति पौडेलले मौलिकता, सिर्जनात्मकता र स्वस्थ मनोरञ्जनसहित सूचना, शिक्षा र प्रेरणा प्रदान गर्नमा चलचित्रको महत्व रहँने भन्दै संख्यात्मकसँगै आधुनिक प्रविधिको प्रयोग गरी गुणात्मक, स्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणमा हाम्रो ध्यान जानु आवश्यक रहेको बताए।
उनले सीमित बजारबाट हुर्केको चलचित्रको बजार आज जुनरूपमा विकास र विस्तार भइरहेको छ त्यो खुशीको विषय भएको जिकिर गरे।