नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको केन्द्रीय अनुशासन समितिले १८ जना नेताकार्यकर्तामाथि अनुशासन कारबाही गरेको विषयमा टिप्पणी गर्दै यस्ता निर्णयले पार्टीलाई झन् कमजोर बनाउने बताएका छन्।
आनन्दप्रसाद ढुंगाना नेतृत्वको अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले लुम्बिनी महामन्त्रीसहित १८ जना नेताकार्यकर्तामाथि २०७९ को तीनै तहको चुनावमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भन्दै बढीमा एक वर्षसम्म पार्टी सदस्यताबाटै निस्कासनको निर्णय गरेको थियो।
उक्त निर्णय असार २५ गते सार्वजनिक भएको थियो। त्यसबेला महामन्त्री थापा विदेशमा थिए।
सोमबार यसबारे टिप्पणी गर्दै थापाले यस्ता निर्णयहरूले पार्टीलाई झन् कमजोर बनाउने बताएका हुन्।
‘यसबीचमा नमीठो घटना पार्टीभित्र भयो, पार्टी सभापतिजीसँग म कोसिस गर्छु, मेरो अपेक्षा छ- पार्टीभित्र बृहत एकता बनाउनुपर्छ,’ काठमाडौंमा सोमबार पार्टीको पेशागत तथा बुद्धिजीवि विभागले गरेको अन्तर्क्रियामा बोल्दै महामन्त्री थापाले भने, ‘हामी अहिले चौतर्फी घेराबन्दीमा छौं, यो बेलामा पार्टीभित्र जसरी एउटा कोतपर्वजस्तै अनुशासन पर्व चल्यो, न यो समयको हिसाबले ठिक भयो, न यो पार्टीको परम्परा र विधान, कानुनको हिसाबले ठिक छ। यी खालका कामले पार्टीलाई थप कमजोर बनाउँछ।’
अनुशासनहीनलाई कारबाही गर्नुपर्ने विषय भए पनि 'जुन तरिकाले सम्बोधन गर्ने प्रयास गरियो त्यसले सत् प्रयासलाई कमजोर बनाउने' पनि उनले बताए। पार्टीका दुई जना महामन्त्रीहरू पार्टीका विवादहरू मिलाउँदै हिँडेको बेलामा यस्तो निर्णय भएको पनि उनको भनाइ छ।
यो पनि:
लुम्बिनी महामन्त्री, गण्डकीका पूर्वमन्त्री र खोटाङ सभापतिसहित १८ जनामाथि कांग्रेसले गर्यो कारबाही
अनुशासन कारबाहीले शेखर समूहमा तरंग
भिडिओ: