प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदको ठूलो दल नेपाली कांग्रेस पनि 'स्वर्ग र नर्क' को गोलचक्करमा परेको महसुस आफूले गरेको बताए।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले सरकारले एकपछि अर्को स्वेच्छाचारिता शृंखला चलाइएको विषय र अहंकार प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै जानुमा कांग्रेस पनि गोलचक्करको पासोमा परेको बताए।
'नेपाली कांग्रेस एकपछि अर्को स्वेच्छाचारिताका शृंखलाहरू जसरी अगाडि बढाइएका छन्। जसरी अहंकार र प्रतिश्वपूर्ण व्यवहार हाबी हुँदै गएको छ। यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको जस्तो महसुस गरेको छु,' उनले भने।
अघिल्लो सरकारले गरेको कामबाट सिर्जित परिणाबाहेक सरकारले कुनै सकारात्मक काम नगर्दा यो एक वर्षमा अर्थतन्त्रका लागि अवसर खेर गएको वर्षका रूपमा रहेको बताए।
उनले रोजगारीको अवसर सिर्जना नभएकोले वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ, र त्यसैका कारण रेमिटेन्स बढेको देखिएको बताए। 'तर, सरकारले यसलाई आफ्नै उपलब्धि भनेर भ्रम छर्न खोजेको छ,' उनले भने।
उनले ब्याजदर घट्दा पनि कर्जा प्रवाह नहुनु, बैंकहरूमा ६–७ खर्ब रुपैयाँ थुप्रिनुजस्ता तथ्यांक प्रस्तुत गर्दै सरकारले स्रोत साधनको सदुपयोग गर्न नसकेको, सरकारको नीतिका कारण पूँजी पलायन हुने, बचत निरुत्साहित हुने, कमजोर प्रतिफल भएका क्षेत्रमा लगानी हुने र त्यसले अर्थतन्त्रलाई अझ संकटमा पुर्याउने खतरा रहेको बताए।