गृहमन्त्री रमेश लेखकले भिजिट भिसा दुरूपयोग गर्ने पार्टीका नेता कार्यकर्ताहरूले नैतिकताका कुरा नसिकाउन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर प्रश्न उठाइएको भन्दै प्रधानमन्त्रीसँग जाने मानिस सरकारले निर्णय गरेर लैजाने र नाम सार्वजनिक पनि हुने गरेको बताए।
‘मैले एउटा कुरा सुनेको छु, सुनेको कुरा जान्ने साथीहरूलाई थाहा होला र मलाई पनि जानकारी छ। माननीय रवि लामिछानेजी यही सम्मानित सदनको सदस्य रहनुभएको थियो। उहाँ कुनै समय अमेरिकाको भिजिट भिसामै भिजिट गर्न जानुभएको भन्ने सुनेको छु। भिजिटरको रूपमा जाने भनेको भिजिट भिसा नै हो। उहाँ भिजिटरको रूपमा अमेरिका जानुभएको हो कि होइन? होइन भने के भिसामा जानुभएको हो? त्यो जानकारी गराइदिनुहोला,’ गृहमन्त्री लेखकले भने।
भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन भनेर पनि उनले प्रश्न गरे।
‘त्यो भिजिट भिसाको दुरूपयोग हो कि होइन। अनि भिजिट भिसाको दुरूपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरूले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुन्छ क हुँदैन?,’ उनले भने।
भिडिओ: