मधेस केन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले प्रतिनिधि सभाको आउँदो उपनिर्वाचनमा रूपन्देही- ३ मा नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्ने निर्णय गरेको छ।
मोर्चामै आवद्ध सिके राउत नेतृत्वको जनमत पार्टीले भने अलग्गै उम्मेदवारी दिने भएको छ।
रूपन्देही- ३ बारेको यस्तो निर्णय सँगै मधेस केन्द्रित ७ दलीय मोर्चाबाट जनमत पार्टी अलग जस्तै भएको छ।
‘आज मोर्चाको बैठक बस्यो, मोर्चाले नाउपालाई सघाउने निर्णय गरेको छ,’ नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सेतोपाटीसँग भनिन्, ‘सिके राउतजीले आफ्नो अलग्गै उम्मेदवार अघि सार्ने बताउनुभयो। बाँकी ६ वटा दल नाउपाका पक्षमा उभिएका छन्।’
मोर्चामा उपेन्द्र यादवले नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी नेपाल, रञ्जिता चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी सहभागी छन्। जनमतले भने आफ्नै उम्मेदवार बनाउने भएको छ।
रूपन्देही- ३ बाट २०७९ को निर्वाचनमा राप्रपाका दिपक बोहरा निर्वाचित भएका थिए। उनले ३६७१७ मत हासिल गरेर कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए। खाणले ३४०३६ मत पाएका थिए।
राप्रपा सांसद बोहराको गएको चैत १९ मा निधन भएपछि प्रतिनिधिसभा रिक्त बनेको थियो। निर्वाचन आयोगले आउँदो कात्तिक १७ मा त्यहाँ उपनिर्वाचन हुने गरी मिति तोकिसकेको छ।