नेपाली कांग्रेसले संविधान संशोधनलाई निष्कर्षमा पुर्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
असार १६ देखि सुरू भएर असार २३ गते सकिएको केन्द्रीय समिति बैठकले संविधान संशोधन कार्यदल बनाउनेलगायत निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्याउन नेपाली कांग्रेसले एक कार्यदल गठन गर्ने निर्णय गर्दछ। कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउनेछ,’ केन्द्रीय समितिले गरेको निर्णयबारे जानकारी दिँदै उनले भने, ‘संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू एवं अन्य राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ।’
संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी आफूहरूको भएको पनि कांग्रेसले उल्लेख गरेको छ।
‘संविधान कार्यान्वयनको एक दशकमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै यसको गतिशील कार्यान्वयनका लागि समयानुकूल संशोधन गर्नुपर्छ भन्ने विश्वासका साथ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा “संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने” भन्ने विषय महत्वका साथ उल्लेख गरिएको पनि कांग्रेसले स्मरण गरेको छ।
२०८१ असार १७ गते कांग्रेस र एमालेबीच ७ बुँदे सहमति हुँदा संविधान संशोधनको विषय पनि समावेश थियो तर अहिलेसम्म संविधान संशोधनका विषयमा सरकारका तर्फबाट काम सुरू भएको छैन।