राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य डोटीका रमेश बाग पक्राउ परेका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य डोटीका रमेश बागलाई काठमाडौंस्थित उनको निवासबाटै पक्राउ गरिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
‘सञ्चारमाध्यममा प्रकाशित सामग्री सामाजिक सञ्जालमा सेयर गरेकै आधारमा पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधिसभा सांसद जुम्लाकी छिरिङ्ग ल्यामु लामाका बारे राष्ट्रिय स्तरको साप्ताहिक पत्रिकामा प्रकाशित भएको समाचार र निज सांसद स्वयंले टिकटकमा पोस्ट गरेको सामग्रीलाई सेयर गरेको कसुरमा पक्राउ गर्ने, अनावश्यक दु:ख दिने कार्यबाट विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको छ।’
राप्रपाले पक्राउ परेका रमेशलाई अविलम्ब र बिनाशर्त रिहाइका लागि सरकारसँग माग गरेको छ।