गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे मुख्यमन्त्री कार्यालयमा सरूवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा सरूवा गरेर फाजिलमा राखिएको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा जगेडामा राखिएको छ।
आगामी आर्थिक वर्षका लागि बजेट बनाउँदा अर्थ सचिव पाण्डेले आफ्नो गाउँमा अत्याधिक बजेट खन्याएको भन्दै प्रदेश सभामा विरोध भएको थियो।
बजेटमाथि छलफल हुँदा सांसदहरूले मन्त्रीभन्दा कर्मचारीतन्त्र हाबी भएको आरोप लगाएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कर्मचारी हाबी भएको विषयलाई गम्भीर रूपमा लिएको जबाफ दिएका थिए।
बजेटमा अर्थसचिव पाण्डेले आफ्नो पालिका तनहुँको भानु नगरपालिकामा मात्र २० करोड बढी बजेट खन्याएको र आफ्नो वडा भानु– ८ मा मात्र ८ करोड बढी बजेट राखेको आरोप सांसदहरूले लगाएका थिए।
अर्थसचिव पाण्डेले भने अर्थ मन्त्रालयबाट एउटा पनि योजना थपघट नगरेको दाबी गर्दै आएका छन्।
आफ्नो घर पनि गण्डकी प्रदेशमै रहेको र गृह पालिकाबाट माग भएका योजना सम्बन्धित मन्त्रालयमार्फत आएको उनले बताउँदै आएका छन्।
प्रदेशले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ल्याएको ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट गत शुक्रबार नै प्रदेश सभाबाट पारित भइसकेको छ।