प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डिपी) अर्यालले सुमिरे ट्राभल्सबारे सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाल उठाएको प्रश्नमा जबाफ दिएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा रास्वपा कार्यवाहक सभापति समेत रहेका अर्यालले सुमिरे ट्राभल्स आफ्नो रहेको जबाफ दिएका हुन्।
शनिबार संसदमा खतिवडाले सुमिरे ट्राभल्समार्फत विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर बसेको आरोप लगाएका थिए। उनले भिजिट भिसामा पठाएर अर्बौं असुल्नेहरू नै संसदमा उफ्रिरहेको बताएका थिए।
‘सुमिरे टुर्स एण्ड ट्राभल्स मेरो कम्पनी हो। म यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन। मेरो समय ठीकै चलेको छ। अरूको घडीको समय बिग्रेको छ भने म के भनौं,’ जबाफमा अर्यालले भने, ‘मेरो कम्पनीमा मात्र एक जना मान्छे भिजिट भिसामा जापान होइन, संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौं र फर्केका छैनन् भने प्रमाण पेस गर्न चुनौती दिन्छु। होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ।’
त्यस्तै खतिवडाले यो विषय रास्वपाको आन्दोलनलाई विषयान्तर गराउन उठाएको पनि अर्यालको आरोप थियो।
‘हामीले आन्दोलन जारी राखेका छौं। यो सबैलाई जानकारी छ। हामीले कस्तो समाज निर्माण गरेका छौं र गर्दै छौं। यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जबाफ दिँदै हिड्नुपर्ने,’ उनले भने, ‘३३ दिनदेखि भिजिट भिसाको नाममा मानव तस्करीविरूद्ध हामी आन्दोलनमा छौं। र संसदीय छानबिन वा उच्चस्तरीय छानबिन समितिको मा गरिरहेका छौं। यसलाई विषायन्तर गर्नका लागि हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो।’
उनले आक्षेप लगाउने व्यक्ति नै भिसा पाए आफैं जान सक्ने बताए।
सांसद डिपी अर्याल बोल्दै गर्दा सांसद खतिवडाले आपत्ति जनाएका थिए।
खतिवडाले शनिबार संसदमा सो विषय उठान गर्दा आफूले कसैलाई पनि नाम किटेर आरोपित नगरेको बताए।
‘आज केही माननीय सदस्यहरूको अभिव्यक्ति सुन्न पाइयो हामीले कुनै माननीय सदस्य नाम किटान गरेर भनेका थिएनौं। चोरको खुट्टा काट भन्दा खुट्टा झिके जस्तो गरेर केही माननीयहरू प्रस्तुत हुनुभयो,’ उनले भने।
उनले डिपी अर्यालको भनाइ पनि संसदको रेकर्डबाट हटाउन माग गरेका थिए।
खतिवडाले सुमिरेको भिजिट भिसाबारे निष्पक्ष छानबिन गर्नुपर्ने पनि बताएका थिए।