स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरुले सकारात्मक सन्देश दिनसके मात्रै लोकप्रिय बनिने बताएका छन्।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आज सानो त्रुटीले मात्रै पनि निर्वाचनमा जनमत र पार्टीको लोकप्रियता घट्ने अवस्था रहेको बताए।
'आज सानो त्रुटी गरियो भनेपनि हाम्रो भोट घट्छ। पार्टीको लोकप्रियता घट्छ । हाम्रो नेतृत्वले कहिले कहीँ यो कुरा ख्याल नगरेको जस्तो देखिन्छ,' उनले भने।
उनले पार्टीको केन्द्रिय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरुमाथि टिका टिप्पणीहरु हुने वा नहुने स्थिति निर्माण हुने बताए।
'यो आजको समय हिजोको जस्तो होइन । यो प्रविधिकरण भएको समय हो । आज भौतिक रुपमा भेटेर सबै कुरा गर्नुपर्छ भन्ने छैन । त्यसैले संसार धेरै साँघुरिएको छ । हाम्रो देश पनि साँघुरिएको छ,' उनले भने।
मन्त्री पौडेलले निजी क्षेत्रलाई सम्पूर्ण रुपमा बेवास्ता गरेर आर्थिक उन्नति गर्न नसकिने पनि बताए।