राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रकवि माधव घिमिरेको पूर्णकदको शालिक अनावरण गरेका छन्।
राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ बाहुनडाँडा पुस्तुनमा आइतबार भएको कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको शालिक अनावरण गरेका हुन्।
राष्ट्रपति पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको पनि बताए।
भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको उनको भनाइ छ।
‘प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ’, राष्ट्रपति पौडेलले भने।
विगतमा तत्कालीन पश्चिम ३ नम्बर लम्जुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पुर्याएको सहयोगलाई कहिल्यै विर्सन नहुने पनि उनले बताए।
राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको र जनताको यो अपेक्षा तथा संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्षअनुसार अब तिव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने उनले बताए।