परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको उडिसास्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा नेपाली छात्रा मृत भेटिएको घटनालगत्तै सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल थालिएको बताएकी छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै परराष्ट्र मन्त्री राणाले घटनालगत्तै बिहीबार नै दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको छानबिन गर्न कुटनीतिक पहल थालिएको बताएकी हुन्।
'परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ,' मन्त्री राणाले फेसबुकमा लेखेकी छन्।
बिहीबार विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेकी थिइन्। प्रिशा बिटेक अध्ययनरत थिइन्।
उनको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो।
घटनापछि उडिसा सरकारले पनि विज्ञप्ती जारी गरी घटनाको छानबिन सुरू भएको जानकारी दिएको छ। घटनालगत्तै मृतकको परिवारलाई जानकारी गराइएको छानबिनका लागि प्रहरी खटाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ।
अखिल भारतीय विद्या परिषद (एबिभिपी)ले केआईआईटीमा फेरि नेपाली विद्यार्थी मृत भेटिएको घटना दुःखद भनेको छ।
यसअघि गत फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन्।