भारतले आफ्नो आकाशमा पाकिस्तानी जहाजलाई प्रतिबन्ध लगाएको छ।
बुधबार भारतीय विमानस्थल प्राधिकरणले सूचना जारी गर्दै पाकिस्तानी जहाजहरुलाई भारतीय आकाशमा उडान प्रतिबन्ध लगाइएको जनाएको छ।
भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार प्राधिकरणले बिहीबार मध्याह्न १२ बजेदेखि उक्त निर्णय कार्यान्वयन हुने भनेको छ। यो प्रतिबन्ध कम्तिमा मे २३ सम्म कायम रहने भनिएको छ।
सो अवधीसम्म पाकिस्तानमा दर्ता भएका जहाज, भाडामा सञ्चालन भएका जहाज र पाकिस्तानी सैन्य विमानहरूले भारतको आकाश प्रयोग गर्न पाउने छैनन्।
पहलगाम हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावकाबीच भारतले पनि पाकिस्तानी जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाएको हो।
एक साताअघि पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बुधबार भारतले पनि पाकिस्तानलाई जबाफ दिँदै त्यस्तै निर्णय गरेको हो।
पढ्नुस्ः पाकिस्तानी आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध
यद्यपि सो निर्णयले भारतको तुलनामा पाकिस्तान कम प्रभावित हुने बताइएको छ।
भारत-पाकिस्तानबीच सिधा उडान छैन।
पाकिस्तान एयरलाइन्सले सिंगापुर, मलेसिया र अरू पूर्वी एसियाका मुलुकहरूमा उडान गर्दा भारतीय आकाश प्रयोग गर्दै आएको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ।
ती क्षेत्रमा जानका लागि अब चीन वा श्रीलंका हुँदै उड्नुपर्नेछ। यो रूट प्रयोग गर्दा लामो दूरी उडान गर्नुपर्ने भएकाले इन्धन र समय बढ्ने बताइएको छ। यद्यपि भारतीय हवाई क्षेत्र प्रयोग गर्ने पाकिस्तानी जहाजहरू न्यून भएकाले प्रतिबन्धको प्रभाव सीमित हुने अधिकारीहरूले बताएका छन्।
पाकिस्तानले प्रतिबन्ध लगाउँदा भने भारतका ठूला एयरलाइन्स कम्पनीहरू एयर इन्डिया र इन्डिगो प्रत्यक्ष प्रभावित भएका छन्।
विशेषगरी नयाँ दिल्लीबाट युरोप, मध्यपूर्व र उत्तर अमेरिकी मुलुकहरूको उडानमा भारतीय जहाजहरूले पाकिस्तानको आकाश प्रयोग गर्थे। पाकिस्तानको कदमपछि एयर इन्डिया र इन्डिगोले न्युयोर्क, अजरबैजान र दुबईजस्ता गन्तव्यमा लामो हवाइ मार्ग प्रयोग गर्न थालिसकेका छन्।
यसले इन्धन खर्च बढ्ने र कार्गो ढुवानी घट्ने बताइएको छ। इन्धनले मात्रै एयरलाइन्सको खर्चको ३० प्रतिशत हिस्सा ओगट्छ।
त्यति मात्रै होइन चालक दलका सदस्यहरूका कार्यतालिका पनि परिवर्तन गर्नुपर्ने र उडानको समय बढी भएपछि स्वाभाविक रूपमा उनीहरूको तलब भत्तामा फेरबदल गर्नुपर्ने अवस्था आउँछ।
अन्य देशबाट भारत आवतजावत गर्ने जहाजहरूलाई भने पाकिस्तानले प्रतिबन्ध लगाएको छैन। भारतीय जहाजहरूको हकमा भने कम्तिमा मे महिनाको २३ तारिखसम्म प्रतिबन्ध कायम रहनेछ।
यसअघि सन् २०१९ मा पनि पाकिस्तानले भारतीय जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाएको थियो। त्यतिबेला भारतीय एयरलाइन्सहरूलाई झन्डै ६४ मिलियन डलर नोक्सानी बेहोरेको भनेर रोयटर्सले लेखेको छ।
भारत र पाकिस्तान सरकारले एक अर्काविरूद्ध प्रतिबन्ध लगाउँदै गर्दा सिमानामा दुई देशका सैनिकहरूबीच गोली हानाहान भइरहेका छन्।
जम्मू-कश्मिरको नियन्त्रण रेखा (एलओसी) मा भारतीय र पाकिस्तानी सेनाबीच एक सातादेखि नै गोली हानाहान भइरहेको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।
पाकिस्तानले एलओसी क्षेत्रमा भारतीय सेनामाथि लक्ष्य गरेर गोलीबारी गरेको भारतीय सेनाले पनि त्यसको जबाफ दिएको भनेर भारतीय सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।
ती अधिकारीले बुधबार राति पनि गोलीबारी भएको बताएका छन्। गोली हानाहानमा दुवै पक्षबाट हताहती भएको विवरण सार्वजनिक भएको छैन।
भारतले गत मंगलबार जम्मू-कश्मिरमा भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी गर्दै आएको छ। नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु हुनेगरी भएको हमलामा पाकिस्तानले आफ्नो संलग्नता इन्कार गर्दै आएको छ।
आक्रमणको जिम्मा द रेसिस्टेन्ट फ्रन्ट (टिआरएफ)ले लिएको छ। टिआरएफलाई पाकिस्तानको सैन्य र गुप्तचर निकायले समर्थन गरेको आरोप छ।
भारत-पाकिस्तानबीच बढ्दो तनावबीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई अधिकतम संयम अपनाउन र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ।