नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई विभिन्न मागसहितको पत्र बुझाएका हुन्।
एकीकृत समाजवादीले अपमानपूर्ण इतिहासलाई बदल्न, राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको पत्रमा उल्लेख गरेको छ।
यस्तै उक्त कारणले आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भएको समेत पत्रमा व्यक्त गरेको छ।
पार्टीले समयको मागलाई दृष्टिगत गर्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ विभिन्न बुँदामा प्रश्ताव अगाडि सारेको हो।
एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीसमक्ष बुझाएको पत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पूर्वाधार, सुशासन, सामाजिक, विदेश नीति, प्रवासी श्रमिक र गैर आवासीय नेपाली लगायतका शीर्षकमा विभिन्न माग राखेको छ।
यस्तै एकीकृत समाजवादी संविधान कार्यान्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने लगायतका माग राखेको छ।
शासकीय स्वरूप, सङ्घीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका दश वर्षको पुनरवलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गर्नुपर्ने माग समेत पार्टीले राखेको छ।
प्रधानमन्त्री ओलीलाई मागसहितको ज्ञापन पत्र बुझाएपछि पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले जनताहरू कुशासनको जाँतोमा पिल्सिएको भन्दै जतासुकै भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्ती कारण नागरिकले सास्ती भोग्नुपरेको बताए।
उनले कुशासनले मानिसहरूलाई निकै धेरै यातना दिएको बताउँदै कुशासनको जज्ञ्जिरबाट नागरिकलाई मुक्त गर्नुपर्नेमा जोड दिए।
उनले कुशासनको जाँतोमा किचिएका जनताहरूलाई त्यसबाट मुक्त गर्न राज्य, सरकार र प्रधानमन्त्री संवेदनशील हुनुपर्ने बताउँदै जनतालाई सुशासन दिनुभयो बताए।
उपाध्यक्ष ज्वालाले व्यापक रूपमा फैलिएको भ्रष्टाचारको जालोलाई तोडेर नागरिकलाई सुशासन, शान्ति र अमन चयनको अनुभुति गराउन आफ्नो तर्फबाट सरकारलाई सहयोग गर्ने जिकिर गरे।
“जनताहरू कुशासनको जाँतोमा यति धेरै किचिएका छन्, यति धेरै पिल्सिएका छन्। जतासुकै भ्रष्टाचार, घुसखोरी अनियमितता छ, ढिलासुस्ती छ, हरेक ठाउँमा मान्छेहरूले सास्ती भोग्नुपरेको छ। कुशासनले मानिसहरूलाई निकै धेरै यातना दिएको छ। त्यसैले कुशासनको जनझिरबाट मान्छेलाई मुक्त गर्नुपर्यो। राज्य त्यसमा सिरियस हुनुपर्यो। प्रधानमन्त्री, सरकार त्यो कुरामा सिरियस हुनुपर्यो। जनतालाई सुशासन दिनुपर्यो। व्यापक रूपमा भएको भ्रष्टाचारको जुन जालो छ, त्यसलाई तोड्नको निम्ति भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्यो। घुस खोर, तस्करहरू, नाफाखोरहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्यो। जनताले सुशासन, शान्ति र अमन चयनको अनुभुति गर्न सकुन्। त्यसमा हामी पनि हाम्रोतर्फबाट सहयोग गर्छौं,' उनले भने।
उपाध्यक्ष ज्वालाले प्रधानमन्त्रीले आफूहरूका मागप्रति चासो देखाएको बताएका छन्। उनले ती मागहरूलाई सम्बोधन गर्ने समेत प्रतिवद्धता जाहेर गरेको बताए।-न्युज एजेन्सी नेपाल