शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेको मंगलबार २८ दिन पूरा भएको छ। यसबीच संघीय सरकारले मात्रै होइन, धेरै स्थानीय र प्रदेश सरकारहरूले पनि आन्दोलनप्रति नकारात्मक टिप्पणी गरिरहेका छन्।
झापाको भद्रपुर नगरपालिकाले भने शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन सरकारसँग माग समेत गरेको छ। मेयर गणेश पोखरेल र उपमेयर राधा कार्की दुवैले हस्ताक्षर गरेर मंगलबार जारी गरेको विज्ञप्तिमा भद्रपुर नगरले शिक्षक आन्दोलनको समर्थन गरिएको छ।
'काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको नियमित शैक्षिक कार्यक्रमहरू प्रभावित भई बालबालिकाहरूको पढन पाउने मौलिक हक र अधिकारमा प्रतिकूल प्रभाव परेको छ। आज २८ औं दिनको काठमाडौं केन्द्रित आन्दोलन चलिरहँदा यस नगरपालिकाको धारणा यसै प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं,' भन्दै भद्रपुर नगरले शिक्षकका जायज माग पूरा गर्न माग गरेको छ।
'संघीय शिक्षा ऐन तत्काल जारी गर्ने सम्बन्धमा शिक्षक महासंघले सुरूदेखि उठाउँदै आइरहेको माग हो। तसर्थ यस विषयमा शिक्षक महासंघको माग प्रति स्थानीय सरकारको ऐक्यबद्धता रहेको छ,' भद्रपुर नगरले थप भनेको छ, 'संविधान जारी भएको एक दशक पूरा हुन लाग्दासमेत २०२८ सालमा निर्मित कानुनद्वारा शिक्षा क्षेत्र सञ्चालन हुनु दुःखद भएकाले यथाशक्य चाँडो संसदमा विचाराधीन रहेको विधेयकमा शिक्षक महासंघले उठाउँदै आएका जायज मागहरू सम्बोधन गर्दै शिक्षा विधेयक पारित गरी शिक्षा ऐन जारी गर्न विषयगत समिति, संघीय संसद, नेपाल सरकार र सम्बन्धित राजनीतिक दलका नेतृत्व समक्ष अनुरोध गर्दछौं।'
हाल विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नु पर्ने समयमा अभियान प्रभावित भइरहेकाले यसले समग्र शिक्षा प्रणाली र विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूमा समेत भविष्यलाई लिएर चिन्ता तथा अन्यौल रहेको उल्लेख गर्दै भद्रपुरले भनेको छ, 'नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना, एसइईको उत्तरपुस्तिका परिक्षण, कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन लगायत विद्यालय शिक्षा क्षेत्रका सम्पूर्ण कार्यक्रमहरू ठप्प भइरहेको हुँदा आन्दोलनमा रहनु हुने सबै शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई विद्यालय फर्किन अनुरोध गर्दछौं। साथै यसका लागि अनुकूल वातावरण बनाइदिन नेपाल सरकार समक्ष अनुरोध गर्दछौं।'
स्थानीय सरकारले विज्ञप्ति जारी गरेरै शिक्षक आन्दोलनलाई समर्थन गर्नुको कारणबारे मेयर गणेश पोखरेललाई सोध्दा उनले नगरपालिकाको धारणा विज्ञप्तिमै प्रस्ट गरिएको बताए।
भद्रपुरका मेयर पोखरेल सत्तारूढ नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। उनी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका निकट नेता पनि हुन्। उपमेयर कार्की राप्रपाबाट निर्वाचित जनप्रतिनिधि हुन्।
