सत्तारूढ नेकपा (एमाले)का सांसद गोकर्ण विष्टले संविधानको कसम खाएर संसदमा आएपछि संविधानलाई नै कमजोर बनाउने छुट कसैलाई पनि नभएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै विष्टले निर्वाचित भएर संसदमा आउने सदस्यहरूलाई जनताले त्यस्तो जनादेश नदिने बताएका हुन्।
'संसदभित्र संविधानको कसम खाएर आएपछि संविधानलाई कमजोर बनाउने छुट कुनैलाई शक्तिलाई हुँदैन। संविधानको कसम खाने तर संविधानलाई कमजोर बनाउने अधिकार कसैलाई छैन,' उनले भने
उनले केही कमजोरीहरूलाई औंल्याएर जनताको अपेक्षा र विकासको बीचमा भएको अन्तरलाई उछालेर फाइदा उठाउँदै केही शक्तिहरू लोकतान्त्रिक अभ्यासको विरूद्ध हर्कत गरिरहेको बताए।
'जन्मशिद्ध शासकीय अधिकारलाई आदर्श मान्ने शक्तिहरू आज लोकतान्त्रिक अभ्यासको खिलाफमा हर्कत गरिरहेका छन्,' उनले भने।
तर जनताले लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोजेको उनले बताए। उनीहरूले सुधार खोजेका हुन्।
'लोकतन्त्रमा देखा परेका कतिपय प्रवृत्तिहरू, समस्याहरूलाई समाधान खोजिरहेका छन्। कतिपय बेठीक प्रवृत्तिहरूको सुधार खोजिरहेका छन्। जनताले विकल्प खोजिरहेका छैनन्। यो सबाल बुझ्न जरूरी छ,' उनले भने।
सांसद विष्टले विभिन्न सूचकांकहरुले लोकतान्त्रिक व्यवस्थामा सकारात्मक परिवर्तन भएको देखाए पनि जनतामा निराशा बढ्नुको कारण पहिल्याउनुपर्ने बताए।
'यति धेरै परिवर्तन हुँदा पनि जनतामा निरशा देखा परेको छ। के कारणले असन्तुष्टि पैदा भइरहेको छ। के कारणले विरोधका स्वरहरू मौलाइरहेका छ। हामीले गम्भीरताका साथ समीक्षा गर्नुपर्छ। हाम्रा कमजोरीलाई ठण्डा दिमागले पहिचान गर्नुपर्छ। त्यसलाई आत्मसात गरेर सुधार गर्नुपर्छ,' उनले भने।