नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभा गठनको तयारी सुरू गरेको छ।
जिल्ला-जिल्लाबाट सभामा रहनेहरूको नामावली संकलन गर्ने जिम्मेवारी कांग्रेसले तीन जना केन्द्रीय सदस्यलाई दिइसकेको छ।
केन्द्रीय सदस्यहरू अजयबाबु शिवाकोटी, हरिशरण नेपाली र तारामान गुरूङले जिल्ला-जिल्लाबाट ज्येष्ठ राजनीतिज्ञ सभाका लागि नामावली संकलन गर्न सहजीकरण गर्नेछन्।
केन्द्रीय सदस्य शिवाकोटीले ज्येष्ठ राजनीतिज्ञ सभाका लागि समन्वय र सहजीकरण गर्न पार्टीले आफूहरूलाई जिम्मेवारी दिएको जानकारी दिए।
अब बस्ने केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहने ज्येष्ठ राजनीतिज्ञ सभा गठन गर्नेछ। त्यसअघि उक्त सभामा रहनेहरूको नामावली संकलन गर्न लागिएको हो।
कांग्रेसको नियमावली २०७६ को बुँदा ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा रहने व्यवस्था छ।
लामो समयदेखि पार्टीमा रहेर निरन्तर योगदान पुर्याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेकाहरू ज्येष्ठ राजनीतिज्ञ सभामा रहने नियमावलीको व्यवस्था छ।