प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारका लागि पाल्पा र रूपन्देहीमा तय भएको उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी नहुने भएका छन्।
चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओली बालुवाटारमै आराम गर्नेछन् भने यी कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन्।
प्रधानमन्त्री ओली मंगलबार बेलुकीदेखि अस्वस्थ छन्। उनको स्वर भासिएको सचिवालयले जनाएको छ।
त्यसैले चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओलीले पाल्पा र रूपन्देही जाने कार्यक्रमलाई स्थगित गरेका हुन्।
सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, बुटवल गोरूसिंगे सडकको स्तरोन्नतिको शिलान्यास, पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली शुक्रबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली सहभागी हुने शुक्रबार दिनभरका कार्यक्रम सार्वजनिक गरिसकेको थियो।
तर चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई आराम गर्न भनेका थिए। प्रधानमन्त्री ओली पाल्पा र बुटवलका कार्यक्रममा भर्चुअल रूपमा सहभागी रहने सचिवालय स्रोतले जनाएको छ।