उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने बताएका छन्।
उद्योगी व्यवसायीहरूसँगको छलफलमा मन्त्री भण्डारीले अबदेखि सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने बताएका हुन्।
मन्त्रालयले बिहीबार सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ कार्यान्वयनका विषयमा सरोकारवाला निकाय र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको थियो।
मन्त्री भण्डारीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ संघदेखि स्थानीय तहसम्मै कार्यान्वयन गर्ने गरी सरकार अघि बढेको बताए।
‘मेरो कार्यकक्ष जानुभयो भने हामीले नेपाली उत्पानकै प्रयोग गरेका छौं। मैले सचिवज्यूहरूलाई निर्देश गरेको छु, अबका खरिद सबै सामग्री प्रयोग गर्छौं। सरकारी प्रयोजनका लागि हुने सबै खरिद प्रक्रियामा अबका फर्निचरहरूको कुरा आउला, सरकारी निकाय, मन्त्रालयले खरिद गर्ने कुरामा नेपाली उत्पादन खरिद गर्न यो मन्त्रालय लाग्छ,’ उनले भने।
मन्त्रालयले हालै सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ। स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ तयार गरेको हो।
औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ को प्रयोग गरी यो निर्देशिका तयार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। यो निर्देशिका कार्यान्वयनमा आएपछि सार्वजनिक निकायले प्रचलित कानून बमोजिम अनुसूचीमा उल्लिखित वस्तु खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी नै खरिद गर्नुपर्नेछ।
(न्युज एजेन्सी नेपाल)