नेपाली कांग्रेसका नेता शेखर कोइराला सुदूरपश्चिम गएका छन्।
बुद्ध एयरको जहाजबाट कोइराला शुक्रबार कैलालीको धनगढी गएका हुन्।
कोइरालासँगै सांसदहरू हृदयराम थानी, सुनिल शर्मालगायत सुदूरपश्चिम गएका छन्।
१५ औं महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका कोइरालाले सुदूरपश्चिममा रहेका सबै जिल्लाका सभापतिहरूसँग कुराकानी गर्ने तयारी गरेका छन्।
कोइरालाले कञ्चनपुर, कैलाली, डोटी, बैतडी, बझाङ, डडेल्धुरा, अछाम, दार्चुला र बाजुराका कांग्रेस सभापतिसँग एक्लाएलै भेट्ने कार्यक्रम तय भएको एक नेताले जानकारी दिए।
कोइरालाले शुक्रबार दिउँसो १ बजेदेखि साँझ ५:३० बजेभित्र जिल्ला सभापतिहरूसँग भेटघाट गरिसक्नेछन्।
कोइरालाले शनिबार भ्रातृ संस्थाहरूसँग सामूहिक रूपमा भेटघाट गर्नेछन्। भेटघाटका लागि शनिबार बिहान ८ बजेको समय दिइएको छ। साथै शुभेच्छुक संस्थाहरूसँग पनि शनिबार बिहान नै भेटघाटको कार्यक्रम छ।
यसअघि कोइरालाको नेतृत्वमा कोशी प्रदेशभरका पालिका प्रमुखहरूलाई प्रशिक्षण दिइएको थियो। उक्त कार्यक्रम नगर्न केन्द्रीय कार्यालयले पत्राचार गरे पनि ११३ पालिका प्रमुख कार्यक्रममा सहभागी रहेका थिए।
कोइराला २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार भई शेरबहादुर देउवासँग पराजित भएका थिए।
हालै कोशी प्रदेश प्रथम सम्मेलनमा जाँदा सभापति देउवाले कोइरालालाई नखोजेकोले कोइराला पनि सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिम जाँदा उनलाई जानकारीबिनै गएको एक नेताको भनाइ छ।
कोइरालाले २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन गरिनुपर्ने बताइरहेका छन्। कांग्रेस विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ।