कांग्रेस केन्द्रीय कार्यालयले वैधानिकता दिन अस्वीकार गरेको शेखर कोइराला पक्षको विराटनगर भेलामा प्रदेशका ११३ पालिका सभापति सहभागी बनेको दाबी आयोजकले गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार कोशी प्रदेश समितिलाई पत्राचार गर्दै मंसिर २२ अघि पार्टीको कुनै भेला नभएको र सोही जानकारी जिल्लाहरूमा प्रेषित गर्न भनेका थिए।
कोइराला पक्षको पकड रहेको मोरङका १७ पालिका समितिले आयोजना गरेको भेलामा सहभागी नहुन प्रदेश र केन्द्रीय कार्यालयले सभापतिहरूलाई दबाब दिएका थिए।
तर मंगलबार शेखर पक्षले मंगलबार विराटनगरको जैन भवनमा भेला गरेको हो।
‘आजको भेलामा देशभरीका ५ महानगर सभापतिसहित कोशीका ११३ पालिका सभापति सहभागी छन्,’ आयोजक समिति संयोजक दीपक चापागाईंले भने, ‘सहभागिता उत्साहजनक छ।’
कांग्रेस कोशी प्रदेश समितिले मंसिर २२ मा पहिलो प्रदेश सम्मेलन गर्दैछ।
कोइराला पक्षले त्यो सम्मेलन अघि नै शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन र प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा लगत्तैको आसन र समय दिन माग गर्दै आएको छ। संस्थापन पक्षले कोइराला पक्षको मागमा बेवास्ता गरेको भन्दै संस्थापन इतरले समानान्तर भेला गरेको हो।
कोशी प्रदेशमा कुल १३७ पालिका छन्।
कांग्रेस संस्थापन पक्षले वैधानिकता दिन अस्वीकार गरेको भेलामा देउवा पक्षका नेता एनपी साउँद पनि सहभागी हुने जानकारी यसअघि दिइएको थियो। संस्थापन समूहको कृष्णप्रसाद सिटौला पक्षका नेतासमेत रहेका प्रदेश सभापति उद्धव थापा पनि वक्ता रहने आयोजकले जानकारी दिएको थियो। तर, उनीहरू दुबैजना भेलामा सहभागी भएनन्।