दक्षिण कोरियामा मार्सल ल उल्टिएपछि राष्ट्रपति यून सुक योलको पद संकटमा परेको छ।
मंगलबार उनले घोषणा गरेको सैनिक कानुन दुई घन्टामै उल्टिएपछि योलको राष्ट्रपति पद धरापमा परेको हो।
पूर्वनिर्धारित नभएको टेलिभिजन सम्बोधनमार्फत योलले विपक्षी पार्टीलाई विद्रोहको योजना बनाएको र स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै आपतकालीन सैनिक कानुन घोषणा गरेका थिए।
राष्ट्रपतिको घोषणालगत्तै मंगलबार राति नै नागरिकहरू संसद भवन परिसरमा पुगेर आन्दोलन गरेका थिए। राष्ट्रपति योलले मंगलबार नै संसद भवनमा सेना पनि पठाएका थिए।
यद्यपि संसदको बहुमतले आफ्नो घोषणालाई उल्ट्याइदिएपछि अब उनले राजीनामा दिनुपर्ने नैतिक दबाब पनि रहन्छ।
यद्यपि बुधबार बिहानैदेखि राष्ट्रपतिको राजीनामा माग गर्दै सियोल लगायतका ठाउँहरूमा ठूलो प्रदर्शन सुरू भएको छ।
त्यहाँ १० लाखभन्दा बढी सदस्य रहेको ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग्दै अनिश्चितकालीन आमहड्ताल घोषणा गरेको छ।
दक्षिण कोरियामा उनी अलोकप्रिय बन्दै गएका थिए। त्यसकै परिणाम गत चैतमा भएको आम निर्वाचनमा उनको दल अल्पमतमा परेको थियो। मार्शल ल उल्टिएपछि अलोकप्रियता अझै बढेको छ। उनले राजीनामा नगरे आन्दोलन देशव्यापी बन्न सक्ने बताइएको छ।
राष्ट्रपतिकै पिपुल्स पावर पार्टी (पिपिपी) का सांसदहरूसमेत योलको निर्णयको विरूद्धमा उभिएका थिए। मंगलबार त्यहाँको विपक्षी दल डेमोक्र्याटिक पार्टी (डिपिके)का दल नेता ली जे म्युङले सांसदहरूलाई संसद भवनमा आउन आह्वान गर्दा पिपिपीका सांसदहरू पनि संसद भवन पुगेका थिए।
पिपिपीकै सांसद हान दोङ हुनले राष्ट्रपतिको निर्णलाई गलत भनेर आलोचना गरेका छन्। मंगलबार राति संसद भवनमा उनले विपक्षी दलका नेता म्युङसँग हात पनि मिलाएका थिए भनेर अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले लेखेको छ।
त्यतिमात्रै होइन राष्ट्रपति योलकै प्रशासनमा रहेका धेरै कर्मचारीहरूले पनि राजीनामा दिएका छन्। उनीहरूले पनि योललाई राष्ट्रपतिबाट राजीनामा दिन सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ।
उनले राजीनामा नदिएसम्म हड्ताल गर्ने ट्रेड युनियनको घोषणा, सडकमा उत्रिएका नागरिक, आफ्नै दलका सांसद पनि विपक्षमा र कर्मचारीहरूले पनि राजीनामा दिएपछि अब राष्ट्रपति योलको पद संकटमा परेको छ।
उनले राजीनामा नदिएको खण्डमा सांसदहरुले राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी गरेका छन्। महाभियोग प्रस्ताव पारित गर्न संसदको दुई तिहाई सांसदले पक्षमा मतदान गर्नुपर्छ।
कोरियाको संसदमा राष्ट्रपति योलको पार्टीका १०८ सांसद छन्। विपक्षीसँग १९२ सांसदमात्रै छन्। दुई तिहाईका लागि २०० सांसदको समर्थन आवश्यक रहन्छ। सत्तापक्षकै सांसदहरूले राष्ट्रपतिलाई हटाउन सहयोग गर्न सक्ने बताइएको छ।
दक्षिण कोरियामा सन् १९८० को दशकको अन्त्यमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक कुनै राष्ट्रपतिले मार्सल ल घोषणा गरेका हुन्।
सन् २०२२ मा राष्ट्रपति निर्वाचित यून विपक्षी पार्टीसँग लगभग लगातार राजनीतिक संघर्षमा छन्। दक्षिण कोरियाको संसदमा विपक्षी दलहरूको बहुमत हुँदा राष्ट्रपति यून र संसदबीच केही समयदेखि द्वन्द्व जारी थियो। बजेट पास गर्ने कुरामा पनि राष्ट्रपतिसँग संसदको बिमति थियो।