सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरू भएको छ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रूपन्देही ल्याएको हो।
गत कात्तिक २ गते सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पौने १ बजे भैरहवास्थित सरकारी वकिल कार्यालयमा लगिएको हो।
बुद्ध एयरको जहाज मार्फत बिहान पौने ८ बजे नै रूपन्देही ल्याउने तयारी गरिएपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सुका कारण जहाज अवतरण हुन नसकेपछि साढे १२ बजे मात्र भैरहवा ल्याइएको हो।
लामिछानेलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लग्ने तयारी थियो। तर पछि सिधै सरकारी वकिलको कार्यालयमा लगेर बयान थालिएको हो।
सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको कार्यकक्षमा प्रहरीका अनुसन्धान अधिकृतहरूले लामिछानेसँग बयान लिन सुरू गरेका छन्।
यता बुद्धचोकमा रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। प्रहरीले बुटवल बेलहिया मुख्य सडक भन्दा भित्र प्रदर्शन गर्न रोक लगाएपछि रास्वपाले मुख्य सडकमा प्रदर्शन गरेको हो।
सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जिवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट अनुमति लिएको थियो।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो।
यसअघि सहकारी ठगी आरोपमा कास्कीमा थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डिआइजी छविलाल जोशी बञ्जाडेलाई रुपन्देही ल्याएर बयान लिएर कास्की पठाइसकेको छ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको थियो।
२ करोडमध्ये संस्थाले लिने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको हो। ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए। त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष जोशीको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ।
उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ। लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ।
गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ।
रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन् भने केसी फरार छन्। सहकारीका पूर्वअध्यक्ष तथा संरक्षक जिबी राई र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिए पनि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन।
प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए। तर, अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १८ सय ३१ जनाले आफूहरुको ८६ करोड बढी वचत अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो।
मुद्दा दायर भएका २८ जना मध्ये ८ जना पक्राउ परेका छन्। जसमा २ जना कास्की र एक जना रुपन्देही कारागार रहेका छन्। ५ जना धरौटीमा रिहा भएका छन्।
पक्राउ पुर्जी जारी हुनेमा रूपन्देहीका दीपक लामा, अनन्तबाबु राई (जिवी राईको भाइ), नरेश जिसी, शिवबहादुर गुरुङ, श्रीबल्लव नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बमजन, विज्ञान राई, सुरक्षा अधिकारी छन्।
प्रहरीले ती सबैलाई अनुसन्धानका लागि पक्राउ गरेर मुद्दा दायर गर्ने तयारी गरेको छ।