कन्जरभेटिभ पार्टीहरूको अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपाको प्रतिनिधित्व रहेको छ।
अष्ट्रेलियामा हालै भएको सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य गीताभक्त जोशी उपाध्यक्षमा निर्वाचित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ।
सम्मेलनले न्युजिल्याण्डका रक्षामन्त्री जुडिथ कलिन्सलाई अध्यक्षमा र अष्ट्रलियाको लिबरल पार्टीका नेता जस मनाउटुलाई महासचिवमा निर्वाचित गरेको छ।
एसिया प्रशान्त क्षेत्रका १६ देशका विभिन्न राजनीतिक दलहरू सदस्य रहेको युनियनमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ।
तत्कालिन राप्रपा नेपाल युनियनमा अस्थायी सदस्यको रुपमा रहेको थियो।
राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि युनियनको पूर्ण सदस्यको रुपमा प्रतिनिधित्व हुँदै आएको छ।
कन्जरभेटिभ पार्टीहरूको अन्तर्राष्ट्रिय संस्था एपिडियुको नेतृत्व तहमा राप्रपा पुग्नु महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष लिङ्देनले बताए।
नवनिर्वाचित उपाध्यक्ष जोशीलाई पार्टी कार्यालयमा सम्मान गरिएको छ। अध्यक्ष लिङ्देनले अन्तर्राष्ट्रिय रुपमा पार्टीले प्राप्त गरेको सफलताप्रति खुसी व्यक्त गरेका थिए।
एपिडियुको निर्वाचनमा राप्रपाका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघका उपाध्यक्ष हिक्मतजंग कार्की पनि प्रतिनिधिका रूपमा सहभागी भएका थिए। एपिडियुका अध्यक्ष तथा क्यानडाका पूर्व प्रधानमन्त्री स्टीफन हार्परको नेतृत्वमा एपिडियुको चुनाव सम्पन्न भएको थियो।