सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार बुटवल लैजाने तयारी गरिएको छ।
लामिछानेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा लगेर त्यहाँबाट बुटवल लैजाने तयारी भए पनि पोखराबाट जहाज उड्न ढिलाइ भएको छ।
‘उहाँ (रवि लामिछाने) सहित यात्रुहरूलाई जहाजभित्र राखिसकिएको छ,’ स्रोतले भन्यो, ‘भिजिबिलिटी नहुँदा जहाज उड्न सकेको छैन।’ उनलाई बुद्ध एयरको जहाजबाट भैरहवा लगिनेछ।
बुटवलको सुप्रिम सहकारीको बचत गोर्खा मिडियामा आएको देखिएको भन्दै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि रूपन्देहीमा अनुसन्धानका लागि लैजान लागिएको हो।
गत कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालय च:मतिबाट पक्राउ गरी कास्की लगिएको थियो। उनीमाथि चौथो पटक कास्की अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।