प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न आनाकानी गरे विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति कडा कदम चलाउने संकेत गरेका छन्।
सोमबार साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले यस्तो संकेत गरेका हुन्।
उद्योगहरूमा लाइन जोड्न सरकारले दिएको निर्देशन कुलमानले आनाकानी गरेकोबारे प्रधानमन्त्रीलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए।
विद्युत लाइन आज पनि जोडिएन नि? भन्ने प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जोडिएन हैन? ठिक छ त्यो हेर्दै जानुपर्छ। तर, देश बिगार्न र उद्योगधन्दा बन्द गर्न, देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन।’
यसअघि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले पनि सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका थिए।
प्रधानमन्त्रीले पनि ‘देश बिगार्न र टाट पल्टाउन नदिने’ बताएर सरकारी योजनाबारे संकेत गरेका हुन्।
सरकारले २४ घण्टाभित्र सबै उद्योगमा लाइन जोड्ने निर्देशन प्राधिकरणलाई दिएसँगै सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले ध्यानाकर्षण गराएका थिए।
डेडिकेटेड र ट्रंकलाइन विवादमा उद्योगको लाइन जोडेर बक्यौता उठाउने निर्णय मन्त्रिपरिषदले गरे पनि नेपाल विद्युत प्राधिकरणले कुनै निर्णय लिन सकेको छैन।
अर्को प्रसंगमा प्रधानमन्त्रीले सरकार बाहिर रहँदा माओवादीले सधैं गर्ने भनेकै आन्दोलन भएको पनि बताए।
‘सरकारमा नभएपछि उहाँहरू यस्तै हो,’ उनले भने, ‘अबको १ वर्ष ८ महिनापछि म हट्छु। त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ। उहाँले चुनाव गराउनुहुन्छ। चुनावको नतिजा जे आउँछ, त्यही अनुसार हुन्छ।’