राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा भाग लिन सोमबार अजरबैजानको बाकु पुगेका छन्।
राष्ट्रपति पौडेललाई हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फरिद अहमदोले स्वागत गरेका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिवद्धता प्रकट गरेको रकम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताए।
राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलका अनुसार मन्त्री अहमदोले अहिलेको सम्मेलनको मुख्य विषय नै त्यही भएको उल्लेख गर्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने बताए। अजरवैजानमा नेपालका जस्ता पहाड नभए पनि यहाँका हिमाल पग्लिएर पानीको स्रोत सुकेको उनको भनाइ थियो।
यही कात्तिक २६ गतेबाट सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै बाकु पुगेका हुन्।
कोप –२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ। यही कात्तिक २६ गतेबाट सुरू हुने सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ।
यसैबीच राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच संक्षिप्त भेटवार्ता भएको छ।
बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भेटवार्ता भएको हो।
‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो। हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’, उनीहरूबीच भएको संक्षिप्त कुराकानी उद्धृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले भने।