नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ।
मंसिर १६ मा हुने उपनिर्वाचनमा पार्टी एकढिक्का भई लाग्नेलगायत निर्णय गर्दै बैठक सकिएको हो।
उपनिर्वाचनलाई परिणाममुखी बनाउन धनुषामा रामसरोज यादव, सप्तरीमा उपेन्द्र यादव र परशुराम चौधरी, महोत्तरीमा नरेन्द्र यादव, रौतहटमा जयनारायण यादव र प्रदेश सदस्य सुर्यबहादुर थापालाई जिम्मेवारीसमेत दिने निर्णय भएको छ।
साथै उपनिर्वाचन तयारीमा केन्द्रित रहन पनि बैठकले आग्रह गरेको छ।
मधेसमा मंसिर १६ मा सात वडामा उपनिर्वाचन हुँदैछ। कांग्रेस मधेस प्रचार प्रमुख नितेशकुमार गुप्ताका अनुसार बैठकले कात्तिक २४ गते पदाधिकारी तथा कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदनसमेत गरेको छ।
कांग्रेस र एमालेबीच सरकारलाई सफल र प्रभावकारी बनाउन संघीय निर्देशनअनुसार सभापति कृष्ण यादवको संयोजकत्वमा तीन सदस्यीय राजनीतिक संयन्त्र गठन गरिएको पनि बैठकमा जानकारी गराइएको छ।
पार्टीले सञ्चालन गर्ने सय दिने अभियान तथा क्रियाशील सदस्यता वितरणका कामको समन्वय र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने निर्णय पनि भएको उनले जानकारी दिए।