नेपाली कांग्रेसको युवा संकल्प यात्रा धनुषाको जनकपुरधाम पुगेको छ।
कांग्रेस नेता भूपेन्द्रजङ्ग शाही, रञ्जित कर्ण, प्रमिका राना मगर लगायतको संयोजनमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा सुरू भएको थियो।
मेचीनगरबाट कात्तिक २३ गते सुरू भएको यात्रा सोमबार जनकपुरधाम आइपुगेको हो।
युवा संकल्प यात्राको टोलीलाई कांग्रेस नेता विमलेन्द्र निधिले शुभकामना दिएका छन्।
‘नेपालमा भएका आन्दोलन, क्रान्ति र परिवर्तन तत्कालीन युवा पुस्ताले नै गरेका हुन्,’ पूर्वउपसभापतिसमेत रहेका निधिले भने, ‘तपाईंहरू युवा हुनुहुन्छ भोलिको नेपाल र कांग्रेस पार्टी पनि युवाको हातमा छ। राम्रो काम गर्दै हुनुहुन्छ, अगाडि बढ्नुस्। देशभरि घुम्नुस्, सक्रिय रहनुस् तपाईंहरूको उद्देश्य पूरा हुनेछ, शुभकामना छ।’
भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व-पश्चिम संकल्प यात्रा सुरू भएको हो।
सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने तथा सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने एजेन्डा पनि युवा संकल्प यात्रामा उठाइएको शाहीको भनाइ छ।
संकल्प यात्रामा रहेका नेविसंघ केन्द्रीय सदस्य विनोद शाही ठकुरीका अनुसार जनकपुरधाममा युवा संकल्प यात्रा पार्टी सभापति योगेन्द्र पंजियारको अध्यक्षमा सञ्चालन भएको थियो।
कांग्रेस झापाका सभापति देउमान थेवेले पार्टीको झन्डा यात्राका नेतृत्वकर्ता शाहीलाई हस्तान्तरण गरेर यात्रा शुभारम्भ गरेका थिए। यसबीचमा सप्तरी, सिरहा, मोरङ, सुनसरीलगायत जिल्लामा युवा संकल्प यात्रा भइसकेको छ।