पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ।
नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) नेपाल पूर्वमहासचिवसमेत रहेका ५५ वर्षीय वाग्लेको आइतबार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
कलेजोको समस्या देखिएपछि वाग्लेलाई कात्तिक १९ गते अस्पतालमा भर्ना गरिएको थियो।
नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेले ठमेलमा होटल, ट्राभल, टुर्सलगायत व्यवसाय सञ्चालन गर्दै आएका थिए।
जलविद्युत्, बीमा, बैङ्क लगायतमा समेत लगानी गरेका थिए।
वाग्लेको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार बिहान पशुपतिमा राखिएको छ।
उपप्रधानमन्त्री प्रकाशमान सिंह, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, कांग्रेस राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, शंकर भण्डारी, सांसद राजेन्द्र बजगाई, कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपाने लगायतले पशुपति पुगेर वाग्लेलाई श्रद्धाञ्जली दिएका छन्।
सभापति शेरबहादुर देउवाले वाग्लेको निधनमा दु:ख व्यक्त गरेका छन्। वाग्लेले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको उनको भनाइ छ। ‘उहाँको निधनबाट कांग्रेसले एक होनाहार युवा नेतृत्वलाई गुमाएको छ,’ उनले भने।
वाग्लेको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेस गोरखाले जनाएको छ। देवेन्द्र कांग्रेस नेता चिरञ्जीवि वाग्लेका छोरा हुन्।