जाजरकोटका क्रियाशील राजनीतिक दलहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई विभिन्न माग राखेर ध्यानाकर्षण पत्र बुझाएका छन्।
आइतबार जाजरकोट पुगेका मुख्यमन्त्री कँडेललाई सोमबार दलहरूले संघीय सरकारलाई समेत ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीलाई पत्र बुझाएका हुन्।
२०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित परिवारको उचित व्यवस्थापनन गर्न माग गरेका छन्। भूकम्पपछि अस्थायी आवास निर्माणका लागि सरकारले दिने रकमको दोस्रो किस्ता समयमै उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
‘दोस्रो किस्ताको रकम निकासा ढिलासुस्ती भएकोले वास्तविक लाभग्राहीको पहिचान गरी भुक्तानीको लागि आवश्यक निर्देशन तथा पुनर्निर्माणका लागि राज्यका तर्फबाट घोषणा भएको रकम तत्काल उपलब्ध गराउनुपर्छ,’ दलहरूले मुख्यमन्त्री कँडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सरकारबाट उपलब्ध गराइने रकम पुनर्निर्माणमा अपुग हुने अवस्था भएकाले राज्यले बैंकमार्फत् लाभग्राहीलाई ३० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउनुपर्छ।’
यस्तै मध्य पहाडी लोक मार्गअन्तर्गत छेडागाड नगरपालिकामा पर्ने मन्ता भीर खण्डमा हालसम्म पनि निर्माण कार्य पूरा नभएकाले यथाशीघ्र निर्माणको पहल गर्न ध्यानाकर्षण गराइएको छ।
जिल्लामा निर्माण गर्ने भनिएको नलगडा जलविद्युत आयोजनाको काम ढिलासुस्ती भएकाले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउन दलहरूले ध्यानाकर्षण गराएका छन्।
जिल्लाको पश्चिम क्षेत्र थलह, चाँदे हुँदै जुम्ला जोड्ने सडक, थलह, फूलबारी, नदाईडाब सडक, कुशे, ब्याउलीढुंगा सडक, छेडा कचाली सडक र बारेकोट मुल्साम हुँदै जुम्ला जोड्ने सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न दलहरूले माग गरेका छन्। जिल्लामा रहेका पौराणिक स्तुपाहरूको संरक्षणका लागि पनि पहल गरिएको छ।
जिल्लामा रहेको काइनाइट, टुरमालिन जस्ता बहुमूल्य ढुंगा खानी, फलाम खानी उत्खनन तथा प्रशोधनका लागि प्रदेश सरकारमार्फत आवश्यक बजेट विनियोजन गर्न दलहरूले कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
भूकम्पका कारण पूर्ण रूपमा क्षति भएका सार्वजनिक संरचनालाई अस्तित्वसहित पुनर्निर्माण गर्ने गरी आवश्यक नीति निर्माण तथा बजेट विनियोजन गर्न पनि ध्यानाकर्षण गराइएको छ।
जाजरकोटको जिल्ला अस्पताललाई विशेषज्ञसहितको सेवा सञ्चालनका लागि आवश्यक बजेट, जनशक्ति व्यवस्थापन गर्न पनि जिल्लामा क्रियाशील दलहरूले मुख्यमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
यस्तै, जाजरकोट हुँदै रारा जोड्ने लुम्बिनी–रारा सडक मार्गअन्तर्गत जाजरकोटमा निर्माण गर्ने भनिएको सुरुङ निर्माणका लागि पहल गर्नुपर्ने, भूकम्प तथा भूकम्पपछि आएको बाढीका कारण ज्यान गुमाएका परिवारका एक जना सदस्यलाई रोजगारी दिलाउनुपर्ने, जिल्लाका ग्रामीण भेगमा विद्युत विस्तारका लागि पहल गर्न दलहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा (एस) ले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।