धरानका मेयर हर्क साम्पाङले उच्च अदालत विराटनगरको अल्पकालीन आदेश लत्याउने अभिव्यक्ति दिएका छन्।
आफूले जसलाई कार्यवाहक दिएको हो, उही नै कार्यवाहक मेयर हो भन्दै मेयर साम्पाङले सामाजिक सन्जालमार्फत अदालतलाई चुनौती दिएका हुन्।
उपमेयर अइन्द्रविक्रम बेघा नगरमै हुँदाहुँदै उपमहानगरका मेयर साम्पाङले धरान ११ का वडाध्यक्ष लोकन्द्र फागोलाई कार्यवाहक दिएर दुई साताका लागि बेलायत गएका छन्।
मेयरको निर्णयविरुद्ध अदालत गएका बेघाको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत विराटनगरले आइतबार मेयरको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो।
अदालतको पत्र आइनसकेको भन्दै वडाध्यक्ष फागोले सोमबार कार्यवाहक मेयरकै हैसियतमा काम गरेका थिए। सोमबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै मेयर साम्पाङले आफूलाई अदालतले नभइ जनताले मेयर चुनेको र सोही बमोजिम कार्यवाहक दिएको जिकिर गरेका छन्।
मेयर साम्पाङले लेखेका छन् ‘मलाई कुनै अदालतले चुनेको होइन। लोकतन्त्रमा सार्वभौम नेपाली नागरीकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो। म ५ बर्ष सम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनु भएको हो, मैले नागरिकले दिएको अधिकार दिएर ११ नम्बरको अध्यक्षलाई कार्यवाहक छोडेको छु। मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक। केही हल्ला नगर। मुख छाड्नु नपरोस्। धरानको विकासको लागि म दुई दिन युके आउँदा बद्नाम गर्दै नबस है।’
यो पनि: उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश