लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभेको छ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको हो।
प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई भने सामाजिक विकास मन्त्रालयबाट अलग्याउने निर्णय गरेको छ।
सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले प्रदेश मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय गाभ्ने र युवा तथा खेलकुद मन्त्रालय भने अलग बनाउने निर्णय गरेको बताए।
यस्तै, सरकारले कार्यविभाजन नियमावली हेरफेर गरेको छ। कार्यविभाजन नियमावली २०७९ को अनुसूची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो।
बैठकले प्रदेशको राजश्व बढाउने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने निर्णय गरेको छ।
बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्ष महशुद खाँलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरूवा भएर लुम्बिनी प्रदेशमा आएका डा.रामेश्वर देवकोटालाई पाल्पा अस्पतालमा कामकाजका लागि खटाउने निर्णय गरेको मन्त्रि पन्थिले बताए।