नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ सरकार भर्सेस हुनुपर्ने कुनै आवश्यकता नभएको बताएको छ।
आइतबार सचिवालयको बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले सञ्चारकर्मीले सोधेको प्रश्नमा उक्त जवाफ दिएका हुन्।
‘अनुसन्धानको आफ्नो प्रक्रिया हुन्छ। खासगरी लोकतन्त्रमा जननिर्वाचित संस्था प्रतिनिधि सभा आफैमा सर्वोच्च संस्था हो। संसदले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा नेपाल सरकारले आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा लेखिपठाएको थियो,' उनले भने, 'सम्बन्धित निकायले अनुसन्धानको प्रक्रियालाई अघि बढाएका छन्। यो विषय सरकारको मात्रै विषय नभएर संसदको साझा सरोकारको विषय हो। सरकार भर्सेस हुनुपर्ने कुनै आवश्यकता छैन।'
उनले संसदको सर्वसम्मत निर्णयका आधारमा प्रक्रिया अघि बढेको भन्दै प्रतिवेदनले इंगित गरेका मानिस छानबिनको दायरामा आउने बताए।
‘उहाँहरू छानबिनको प्रक्रियामा आउनुपर्छ। उहाँहरूले छानबिनको प्रक्रियालाई सघाउ पुर्याउनुपर्छ। स्वाभाविक रूपमा छानबिनको प्रक्रियाले जे ठहर गर्छ त्यसका आधारमा प्रक्रिया अघि बढ्छ,' उनले भने, 'त्यससम्बन्धमा हाम्रो पार्टीको दृष्टिकोण अमूक व्यक्तिलाई कारबाही गर्नुपर्छ वा सफाइ दिनुपर्छ भन्ने छैन। छानबिनले जे उचित देख्छ त्यसै आधारमा विषय अगाडि बढ्छ।'