नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति राख्ने दुई जनासहित तीन जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी सचिवालयको बैठकले भवन निर्माणका विषयमा असहमति राख्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए।
यसैगरी लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको भन्दै पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव पोखरेलले बताए।
‘पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिनुभएकोमा उहाँहरूले के कति कारणले उहाँहरूले त्यसप्रकारका गतिविधि गरिराख्नुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ उनले भने।
स्थायी कमिटी सदस्य पाण्डेले व्यवसायी मीनबहादुर गुरूङसँग दान लिएर पार्टी केन्द्रीय कार्यालय भवन बनाउनु साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने कदम भएको टिप्पणी गरेकी थिइन्।
यो पनि पढ्नुस्ः एमाले सचिवालयलाई प्रश्न – सुधारको नेतृत्व गर्ने कि एक अर्बको सम्पत्ति दान थाप्ने?
व्यवसायी गुरूङले दान दिएको भनिएको कीर्तिपुर नगरपालिका-२ स्थित मैत्रीनगरको १० रोपनी १४ आना जग्गामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए।
त्यसप्रति असहमति राख्दै पाण्डेले उक्त कदमले २८ लाख मतदाताको अपमान भएको पनि बताएकी थिइन्।
‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो। व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो। तर राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो। दिनेले किन र कसरी दिए उनैलाई थाहा होला। तर स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ। समय घर्की सकेको छैन। मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनै पर्छ। समयमै सोचौं,’ उनले भनेकी थिइन्।
केन्द्रीय सदस्य तिम्सेनाले पनि व्यवसायीबाट दान लिएर पार्टी कार्यालय उभ्याउनु गम्भीर गल्ती भएको बताएकी थिइन्।