राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि आइतबार पोखरामा दिनभरजसो प्रदर्शन भयो।
शुक्रबार काठमाडौंको केन्द्रीय पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा पुर्याइएको थियो। उनलाई शनिबार बिहान ३ बजेमात्रै पोखरा पुर्याइएको थियो। तर सार्वजनिक बिदा भएकाले म्याद थप हुनसकेन।
आइतबार लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गर्न जरूरी थियो। प्रहरीले त्यस अनुसार नै लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गरायो।
यता पोखराको शहिदचोकमा दुई पक्षको प्रदर्शन हुने पूर्वसूचना प्रहरीलाई थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पौने १२ बजेदेखि लागुहुने गरी अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गर्यो।
प्रदर्शनकै क्रममा रास्वपा कार्यकर्ताहरू र प्रहरीबीच धकेलाधकेल सुरू भयो। पछि प्रहरीले बल समेत प्रयोग गरेको थियो।
प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहरासमेत प्रहार गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त शर्माका अनुसार अहिलेसम्म घाइते भएकाको विवरण आइसकेको छैन। यस्तै प्रदर्शनकैक्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। पछि उनलाई छाडिएको हो।
त्यसैबीच साँझ अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यो म्याद बुधबार सकिनेछ।
तस्बिरहरू: