प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनः स्थापनाको काममा सरकार ढृढ र सक्रिय रहेको बताएका छन्।
आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिहरूलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।
यस्तै गत वर्ष जारकोट केन्द्रबिन्दु भई गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपदबाट प्रभावितलाई छिटोछरितोरूपमा राहत वितरण गरिने प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले विपदलगत्तै सुरक्षा निकायसहित सबै अंगले प्रभावकारी काम गरेको बताए।
नेपाल आयल निगमबाट तीन करोड, युनिलिभर कम्पनीबाट ३० लाख, माछापुछ्रे बैंकबाट २५ लाख र पूर्व राष्ट्रसेवक कर्मचारी संगठनबाट एक लाख रुपैयाँ कोषमा हस्तान्तरण भएको छ।