माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन्।
पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले शनिबार गृह जिल्ला रोल्पाको लिवाङमा गरेको पत्रकार भेटघाटमा पुनले उस्तै आरोप लागेका गुरूङ र पोखरेललाई छुट दिन नमिल्ने बताए।
‘रवि लामिछानेलाई जस्तै आरोप काँग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस्। रवि लामिछानेमाथि जे गरिएको छ , धनराज र ऋषिकेसलाई पनि त्यही होस्।'
पोखरेलमाथि १८ करोड हिनामिनाको आरोप रहेको पनि पुनले बताए।
'उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ,’ उनले भने।
पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए।
राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो।
पुनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे।
‘कोही ठूलो, कोही सानो, कोही नजिक, कोही टाढा, कोही सत्ता पक्षको, कोही प्रतिपक्षको वा कोही सर्वसाधारण भएका आधारमा राज्यले फरक व्यवहार गर्न मिल्दैन’, उनले भने, ‘जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक रुपमा उठेका प्रश्नको नेताहरुले ढिलो चाँडो दिनैपर्छ।’
उनले रास्वपा सभापति लामिछनेलाई पनि अनुसन्धानमा सहयोग गर्न आग्रह गरे।
सांसद हुनुअघि पक्राउ परेर थुनिएको र दल खोलेर सांसद निर्वाचित भएपछि नागरिकता प्रकरणमा अदालतले बर्खास्त गरेको र दोस्रोपटक पनि भारी मतले विजयी भएको रवि लामिछानेले बिर्सन नहुने उनको भनाइ छ।
‘कसैलाई आरोप लगाउँदैमा अपराधी हुँदैन। उसले आफ्नो कुरा भन्न पाउँछ। अनुसन्धान र छानबिनबाट जे कुरा पुष्टि हुन्छ त्यो स्थापित हुन्छ त्यो समाजले मान्नुपर्छ। कुनै मान्छेमाथि अनुसन्धान गर्दैमा अपराधी भइहाल्ने कुनै मान्छेलाई छुनै नहुने भन्ने दुवै अतिवादी सोच हुन’, पुनले भने, 'त्यसैले रविजीले अनुसन्धानाई सहयोग गर्नुपर्छ।’