राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टीको सभापतिलाई जेल हालेर रास्वपा सिध्याउन सकिन्छ भन्ने भ्रम नपाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
शनिबार कास्कीमा आयोजित विरोध कार्यक्रममा बोल्दै कार्कीले रवि लामिछानेलाई जेल हालेर रास्वपा नसकिने बरू अझै बलियो र शक्तिशाली भएर आउने बताएकी हुन्।
'प्रधानमन्त्री ज्यू! रवि लामिछानेलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला। सकिँदैन ! अझै ठूलो हुन्छ, अझै शक्तिशाली हुन्छ। अझै बलियो हुन्छ। जति हामीलाई जिस्काउनुहुन्छ त्यति नै बलियो भएर आउछौं। जति हामीलाई चिढ्याउनु हुन्छ त्यति अझै शक्तिशाली भएर आउँछौं,' कार्कीले भनिन्।
उनले रवि पक्राउ परेपछि रास्वपाका बाँकी नेता कार्यकर्ता डराउँछन् भन्ने नसोच्न पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिएकी छिन्।
'नेता कार्यकर्ता मात्रै भएका भए डराउँथ्यौं पनि होला। अहिले सबै नागरिकहरू सडकमा उत्रिनुभएको छ। यो मुद्दा पार्टीको मात्र होइन। आम नागरिकको मुद्दा भएको छ,' उनले भनिन्।
कार्कीले रास्वपाका नेता कार्यकर्ताले जस्तै आफ्नो नेतालाई प्रहरीको जिम्मा लगाउने हिम्मत राख्न पनि अन्य दलका नेता कार्यकर्तालाई चुनौती दिइन्।
'जसरी रास्वपा सम्पूर्ण सदस्य भेला भएर अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ। न्यायिक प्रक्रियालाई सघाउनुपर्छ भनेर जसरी हामीले पार्टीको नेतालाई प्रहरीको जिम्मा लगायौं। त्यसरी प्रत्येक पार्टीका कार्यकर्ताहरूले आफ्नो पार्टीका नेताहरू जो भ्रष्टाचारका काण्डमा मुछिएका छन्। जो ठगी प्रकरणमा मुछिएका छन्। जो यही सहकारी ठगी प्रकरणमा मुछिएका छन्। तिनलाई प्रहरीको जिम्मा लगाउने हिम्मत छ? ,' उनले प्रश्न गरिन्।
कार्कीले अहिले सडकमा आएका नागरिक र कार्यकर्ता एक जना व्यक्तिलाई नभई अभियानलाई जोगाउन आएको दाबी गरिन्।