राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति उपसभापति डिपी अर्यालले सभापति रवि लामिछाने निर्धक्क रहेको बताएका छन्।
शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उपसभापति अर्यालले सभापतिलाई भेटेको र उनी निर्धक्क देखिएको बताएका हुन्।
'भर्खरै पार्टी सभापति ज्यूलाई भेटेर आएँ। उहाँ निर्धक्क हुनुहुन्छ। उहाँलाई न्यायलयप्रति विश्वास छ,' अर्यालले भने।
अर्यालले कार्यकर्ताहरूलाई संयम रहन पनि अनुरोध गरेका छन्।
'सभापति ज्यूले नेतृत्व गर्नुभएको अभियानलाई पूर्णता दिनुछ। भर्खरै उम्रदै छौं। गर्न धेरै बाँकी छ। चिमोट्ने, निमोठ्ने र नाश गर्न खोज्ने खेल जनतालाई बुझाउन आवश्यक छ,' उनले भने। '
उनले पनि कसैको राजनीति बचाउनका लागि संसदीय छानबिन समितिले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्न छैन भन्दा पनि उनलाई पक्राउ गरिएको दाबी गरे।
'यदी गोर्खा मिडिया नेटवर्कमा गएको पैसामा रवि लामिछानेको कतै संलग्नता हुन्छ भने नेपालको कम्पनी ऐन आकर्षित हुन्छ। कम्पनी ऐनले हेर्ने हो। तर आज के का आधारमा उहाँलाई पक्राउ गरिएको छ?,' उनले भने, 'नितान्त एउटा मात्रै कारण हो। उनीहरूको समाप्ति हुने भयो, अर्को चुनावसम्म आफूहरू नरहने भयो। सबै रास्वपातिर लाग्ने भए। देश निर्माणमा रास्वपा अगाडि बढ्ने भयो। भ्रष्टाचारको अन्त्य गर्ने भयो। भ्रष्टाचारीहरूलाई जेल कोच्ने भए भन्ने डर र त्रासले तर्सिएका छन्।'