नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरू पार्टीले भन्दा अझै बढी काम कांग्रेसले गर्नुपर्ने बताएका छन्।
शनिबार धुलिखेलमा विपी कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्नेगरी काम गर्नुपर्ने बताएका हुन्।
तर बाहिर कांग्रेसले कामै गर्दैन भन्ने अवधारणा गएको पनि उनले बताए।
‘काँग्रेसले कामै गर्दैन भन्छन् है विचार गर्नु। काँग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्छन्,’ नेता कार्यकर्ताहरूलाई उनले भने, ‘अनि खाईदेला नि अरु पार्टीले।’
कांग्रेसले जनतासँगको सम्बन्ध बढाउने, प्रदेशदेखि जिल्ला र स्थानीय तहहरूमा समेत विकासका कामहरू गर्ने, दुख पाएका जनताहरूले प्रत्याभूति गर्नेगरी काम गर्नुपर्ने सभापति देउवाले बताए।
‘कांग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ। यसै काममा लाग्नका लागि म सबै साथीभाईहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भने।
समानुपातिक प्रणालीका कारण एउटै पार्टीलाई बहुमत ल्याउन गाह्रो हुने तर कांग्रेसले गाह्रै काम गर्ने देउवाको भनाइ छ।
‘अहिलेको यो संविधान छ। समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएका। यसमा यति धेरै गाह्रो छ। कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ। तैपनि हामीले यो गाह्रो काम नै गर्नु पर्छ। अप्ठ्यारो काम नै गर्नुपर्छ। त्यसको निम्ति मेहनत धेरै गर्यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ। कमसेकम नम्बर वान पार्टी पहिलो पार्टी नेपालको भयो भने हाम्रो पार्टीलाई जनताले गरेको विश्वास पूरा हुनेछ,’ उनले भने।
सभापति देउवाले दुई ठूला पार्टी मिल्दा मुलुकमा सकारात्मक सन्देश गएको पनि बताए।
‘प्रतिष्पर्धी पार्टी मिल्दाखेरी देशभरीमा नै मैले थाहा पाए अनुसार नेपाली जनताहरु खुशी भएका छन्। कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन्। त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)