नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले र कांग्रेसले आगामी चुनाव एक्ला एक्लै लड्ने निर्णय गरेपछि माओवादी केन्द्र छटपटाएको बताएका छन्।
शनिबार प्रेस चौतारी रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्दा र अर्को चुनावमा दुई ठूलले कसैसँग गठबन्धन नगर्ने निर्णय गरेका कारण छटपटाएको बताएका हुन्।
‘नेपाली कांग्रेस र एमाले भन्दा बलियो भएर देखाए भयो त,’ उनले भने।
उनले स्वार्थमा आधारित चुनावले सही निकास दिन नसक्ने पनि बताए।
`राजनीति भनेको जनताको विश्वास जित्ने कुरा हो । नेकपा माओवादीले म्याजिक नम्बर देखाएर दलहरुको बीचमा खेल्नु भन्दा जनताको बीचमा जानू राम्रो कुरा हो,´ उनले भने।
महासचिव पोखरेलले प्रमुख प्रतिपक्षी दलको नेताबाट संसदमा दिएको अराजनीतिक वक्तव्यले संसदमा अवरोध खडा गरेको बताए। उनले वर्तमान संसदले सरकार गठनको विकल्प दिन नसक्ने पनि बताए।