राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदम धेरै जटिल बनाइएको बताएका छन्।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिलाई बयान दिँदै उनले त्यस्तो बताएका हुन्।
समितिले संसदलाई बुझाएको र सरकारले कार्यान्वयन गर्ने निर्णय गरिसकेको प्रतिवेदन संसद् सचिवालयले शुक्रबार सार्वजनिक गरेको हो।
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेसँग समितिले ९ घन्टा सोधपुछ गरेको थियो। समितिले उनलाई ५१ वटा प्रश्न सोधेको थियो।
सोधपुछका क्रममा उनले आफ्नो संलग्नता ग्यालेक्सी टेलिभिजनबाट सुरु भएर ग्यालेक्सी टेलिभिजनबाटै सकिएको बताएका थिए।
‘यसलाई राजनीतिक विषय बनाइँदा सहकारीप्रति नै मानिसको विश्वास उड्यो जसले अर्थतन्त्रलाई निकै ठूलो धक्का दियो। सहकारी पीडितलाई न्याय दिन खर्च गर्नुपर्ने समय मलाई दोषी देखाउन खर्च गरियो,’ उनले जफाव दिँदै भनेका छन्।
उनले यो विषय फौजदारी कसूरको विषय रहेको बताएका छन्।
अनुसन्धान गर्ने निश्चित निकायहरू विद्यमान रहेको बताउँदै ती निकायहरूले आफ्नो सम्पूर्ण क्षमता लगाएर अनुसन्धान गरेको बताएका छन्।
‘सहकारीको बचत रकम अपचलन गर्नेहरू अनुसन्धानको दायरामा छन्। प्रमाणले भ्याएकाहरू कोही छुटेका छैनन्। कुनै पनि व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सानो भन्दा सानो आधार पनि पर्याप्त हुन्छ। मेरो संलग्नताको खोजी गर्न सरकारले कुनै कसूर बाँकी राखेन। जिबी राईले मेरा नाममा र म लगायत सयौं व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी हो भनेर प्रमाण जुटाई मुद्दा चलाइसक्दा पनि र उक्त ऋण लिदा पूरा गर्नु पर्ने कुनै पनि प्रक्रिया पूरा नगरी करोडौं रुपैंयाको अपचलन भएको प्रमाण जुटाइसक्दा पनि राज्य म माथि नै केन्द्रित भयो, मिडिया म माथि नै खनियो तर सहकारीको समस्या समाधान गर्नेतर्फ केन्द्रित हुन सकेन। यसले पीडितले न्याय पाउने कुरा निकै पर धकेलियो,’ उनले भनेका छन्।
उनले विषय यति जटिल नै नहुने बताएका छन्।
‘यदि मैले कुनै सहकारीबाट ऋण लिएको भए प्रमाण हुन्थ्यो। प्रमाण भएको भए म ऋणी हुन्थे। ऋणी भएको भए ऋण तिर्ने दायित्व हुन्थ्यो। तर ऋणी कसरी ठग हुन सक्छ? त्यसमाथि सिंगो राज्य लागेर गरेकी अनुसन्धानमा यत्रो प्रचार गरिएको अपचलनमा एक त्यान्द्रो पनि प्रमाण भेटिएन किनकी मैले सहकारीको पैसा अपचलन गरेको थिइन/छैन। मिडियाले जेजे भन्यो राज्य र विपक्षी दलहरू त्यसैमा विश्वास गर्ने तिर लागे। संसदमा मैले ऋण लिन निवेदन दिएको प्रमाण छ भनियो। मैले त्यो प्रमाण दिनुस, राजनीति छोडिदिन्छु भनेर चुनौती दिएँ। त्यस्तो प्रमाण छ भनिएको आज १०६ दिन भयो त्यो एउटा प्रमाण मैले पाउन सकिन। गोरखा मिडियामा रकम आएको हो भने ल्याउने मानिस पनि देखिएकै होला कुनै पनि कम्पनीको कुनै पनि जिम्मेवारीमा रहनु भनेको आफुले गर्दै नगरेको तर अरू साझेदारले गरेको गल्तीको भारी बोक्नु हो र?,’ बयानका क्रममा उनले भनेका छन्।