राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन्।
संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा विहीबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भने, `हामी संकल्प गरौँ की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन्। नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुने छैन।´
उनले लक्ष्य प्राप्त गर्न अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिने पनि बताए।
`हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण संकल्प गरौं, पहिलो संकल्प गरौं, हामी लोकतन्त्रप्रति प्रतिवद्ध रहने छौं। जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौँ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौं´, राष्ट्रपति पौडेलले भने, `अर्को संकल्प गरौं कि हामी सुशासन प्रति प्रतिवद्ध रहने छौं। राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्य मान्यताको सीमाभित्र आवद्ध गर्नेछौं।´
राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेश्रो संकल्प गर्न आग्रह पनि गरेका छन्।
`भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्दति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ´, उनले भने।
जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौं भन्ने अर्को संकल्प गर्न पनि उनले आग्रह गरे।
`पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौं,´ राष्ट्रपति पौडेलले भने।
यी संकल्प गर्दै मुलुकको सम्वृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्वपूर्ण विषयहरू भएको बताउँदै उनले पहिलो त हामीले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताए।
`राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस्,´ राष्ट्रपति पौडेलले भने।
उनले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्ने, विकास निर्माणलाई तिब्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता हो भनेका छन्।
उनले वेथिति र अनियमितताको अन्त्यमा जोड दिए।`वेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरूलाई जिर्ण र विश्वासहिन बनाउने चिन्ता सर्वत्र भैरहेको छ। यसबाट नागरिकको भरोसा नडगमगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त? यो भरोसालाई पुनस्र्थापित नगरी न त हामी संविधानका लक्ष्यहरू प्राप्त गर्न सक्छौ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ। आजका दिनमा हामीले भ्रष्टाचारमा शुन्य सहनसिलतालाई कडाईंकासाथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ´, उनले भने।
उत्साह र उमंगका साथ संविधान दिवस मनाइरहँदा आफैभित्र आशाको नयाँ दियो बाल्न उनले आग्रह गरे।
आफ्नो संविधान आफैं लेख्न पाउने हामीले पाएको यो सौभाग्य र अवसर कमैमात्र मुलुकका नागरिकले प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै उनले यो गौरवशाली विश्व इतिहास कायम गर्न सफल भएकोमा आजको विशेष दिनमा देशभित्र र बाहिर रहने सम्पूर्ण नेपालीमा बधाई एवम् शुभकामना व्यक्त गरेका छन्।
यो संविधानले हामीलाई लोकतन्त्र दिएको छ र हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौं भन्दै राष्ट्रपति पौडेलले यो संविधानले हामीलाई संघीयता दिएको, अधिकार सम्पन्न स्थानीय तह दिएको र केन्द्रको अधिकार गाउँ गाउँसम्म पुगेको पनि बताए।
`एकात्मक र केन्द्रिकृत शासनप्रणालीको बदलामा प्राप्त संघीयता हाम्रा लागि संविधानले दिएको महत्वपर्ण उपहार हो, त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र साकार पारौं´, राष्ट्रपति पौडेलले भने।
हामीलाई यो संविधानले बहुलवादमा आधारित एक समावेशी नेपाल बनाउने अवसर दिएको र वर्तमान संविधानले निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेकोमात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई मालिक बनाएको उनको भनाइ थियो।
लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट भइ अहिले संविधानतः तीनैतहका सरकारहरू क्रियाशील रहेको र सरकारमार्फत एक नयाँ भविष्यको यात्रामा आवद्ध भएको भन्दै उनलेे संविधानले प्रदान गरेका यी महत्वपूर्ण उपलब्धिहरू भएको उनले बताए।