मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटिलाई संशोधनमार्फत सच्याउन सकिने बताएका छन्।
मधेसको गृहसञ्चार तथा कानून मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटीहरू सच्याउन सकिने बताएका हुन्।
अहिले प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक रहेको उनले बताए।
उनले अहिले संविधानको विरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धीको रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए।
‘प्रदेश सरकार समृद्ध भए संघियता प्रतिको विश्वास पनि विस्तारै बढ्दै जानेछ, संविधान भित्र रहेको त्रुटी संशोधनमार्फत सबैको संविधान बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। अहिले संविधानलाई पूर्ण बनाउन संशोधनको आवश्यकता छ, जुन दल संशोधन सुन्नसम्म चाहँदैन थियो तिनै दलहरू अहिले संशोधनका लागि तयार छन्, यसको फाइदा हामीले लिन सक्नुपर्छ,’ उनले भने।
—न्युज एजेन्सी नेपाल