नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन्।
बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक स्थायित्वलाई दह्रो बनाउन दुई दल मिलेर संविधान संशोधन गर्नेबारे छलफल गरिरहेको बताएका हुन्।
‘हामीले स्वीकार गर्नुपर्छ कि, संविधानले जस्तो खालको समाजको समतामुलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना गरेको छ, त्यसमा भने हामीले धेरै कामहरू गर्न बाँकी छ। त्यसको एउटा मुख्य कारण मुलुकको राजनीतिक अस्थिरता हो,’ उनले भने, ‘त्यो अस्थिरताका विभिन्न कारणमध्ये एउटा संविधानका केही व्यवस्थामा समेत अस्थिरता रहेको कारणले अहिले दुई दल मिलेर हामीले अनुभवका आधारमा संविधान संशोधन राजनीतिक स्थायित्वलाई दह्रो बनाउने कुरा गरिरहेका छौं।’
उनले संघीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने पनि बताए। उनले संघ सरकारबाट बन्नुपर्ने केही कानूनहरू नबन्दा प्रदेशले पूर्ण रूपमा अधिकार प्रयोग गर्न नपाएको बताए।
‘संविधानको कार्यान्वयन गर्दै हामीले करिब ९ वर्ष बिताएका छौं। एकातिर असाध्यै राम्रा उपलब्धिहरू पनि भएका छन्। संसारका थोरै देशहरू होलान्, जसले संविधान जारी भएको तेस्रो वर्षमै संघीयताका तीन वटै सेटअपहरू निर्माण गरेर तीनै तहका सरकारहरू स्मुथ्ली चलाएको संसारका धेरै देशहरूमा त्यस्तो देखिँदैन,’ उनले भने।
—न्युज एजेन्सी नेपाल